मकवानपुर उद्योग वाणिज्य संघको ४ उपाध्यक्ष तर्फको मत परिणाम सार्वजनिक : वस्तुगतमा अधिकारी, एसोसिएटमा चौलागाईं, उद्योगमा रानाभाट र वाणिज्य उपाध्यक्षमा अग्रवाल विजयी

हेटौँडा/ मकवानपुर उद्योग वाणिज्य संघको हिजो मंगलबार भएको निर्वाचनको ४ उपाध्यक्ष तर्फको मत परिणाम सार्वजनिक भएको छ। संघको चुनाबमा वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी, एसोसीयट तर्फको उपाध्यक्षमा उज्वल चौलागाईं, उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिं रानाभाट र वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी भएका छन् ।

वस्तुगतमा उपाध्यक्षमा राजु अधिकारीले १८ मत पाएर विजयी हुनु भएको हो । उपाध्यक्ष पदका अर्का उम्मेदवार काव्यमणि अधिकारीले ११ मत प्राप्त गर्नु भएको छ ।

एसोसियट उपाध्यक्षमा उज्वल चौलागाईले अर्का उम्मेदवार विष्णु खनाललाई १३ मतले हराउदै निर्वाचित हुनु भएको हो । चौलागाईले ६३ मत प्राप्त गर्दा खनालले ५० मत प्राप्त गर्नु भएको छ । त्यसैगरी एशोसिएट सदस्यमा अंकिता सुमार्गी, गणेशप्रसाद भेटुवाल र राजाराम कार्की र दिपक उप्रेती निर्वाचित हुनु भएको छ ।

त्यस्तै उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिं रानाभाटले ३७० मत ल्याई विजयी भएका हुन् । उनले उपाध्यक्ष पदका अर्का उम्मेदवार प्रतिमा श्रेष्ठलाई पराजित गरेका हुन। श्रेष्ठले भने ३१९ मत प्राप्त गरेकी थिइन् । उद्योगमा ८९० मतदाता मध्ये ७५३ मत खसेको थियो । सदस्यहरुमा रुपकराज दाहाल, श्रीकृष्ण कर्माचार्य, सन्तोषकुमार अर्याल र नरेन्द्र भण्डारी विजयी भएका छन् ।

यसैगरी केहिबेर अघि आएको मतपरिणाम अनुसार वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवालले ६ सय ७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी राम प्रसाद न्यौपानेले ६ सय १८ मत प्राप्त गरेका छन् ।

मुख्य समाचार समाचार स्थानीय