बागमती प्रदेशमा मुख्यमन्त्रीको पदको छिनोफानो आज : मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने

हेटौँडा/ बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज कात्तिक १० गते विश्वासको मत लिनुहुने भएको छ । मुुख्यमन्त्री शाक्यले आज अपराह्न बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिनुहुने भएको बागमती प्रदेशसभा सचिवलायले जनाएको छ ।

मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ । आज मतदान हुन लागेको हो । त्यसको लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार, उक्त कार्यको लागि सत्तापक्ष र प्रतिपक्षहरुलाई छुट्टाछुट्टै मतदान कक्षको व्यवस्था मिलाइएको छ । साथै सो कार्यको लागि अधिकृतसहितको आवश्यक कर्मचारीसमेत खटाइएको सचिव खड्काले बताए । मुख्यमन्त्री शाक्यले विश्वास गत असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव कात्तिक ४ गते बसेको बैठकमा टेबुल गरेकी थिइन् ।

मुख्यमन्त्री शाक्यले उक्त प्रस्ताव टेबुल गरेपछि दलगत रुपमा प्रदेशसभाका सदस्यहरुले आ–अफ्नो धारणा व्यक्त गरेका थिए । एमाले विभाजनको क्रममा शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर, एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले शाक्यलाई साथ नदिएपछि उनी अल्पमतमा परेकी हुन् ।

विपक्ष गठबन्धनले मुख्यमन्त्रीमा एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको नेता रा जेन्द्र पाण्डेलाई प्रस्ताव गरेको छ ।कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनले शाक्यलाई विश्वासको मत नदिने बताईसकेको छ ।

बागमतीमा सभामुखसहित १०९ सांसद छन् । शाक्यले विश्वासको मत पाउन ५५ मत ल्याउनु पर्ने छ तर एमालेसँग ४३ मत मात्र छ । कांग्रेसको २२, नेकपा माओवादीको २३ र एकीकृत समाजवादीको १३ मत छ । यसैगरी, विवेकशील साझाको ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र सांसदको १ मत रहेको छ ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार