उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न

काठमाडौं । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व सोमबारदेखि शुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ ।

बर्तालुले जलाशयमा डुबी सूर्यदेवसहित नदीको पूजा आराधना गरी उदाउँदो सूर्यलाई अघ्र्य दिइएको हो । बुधबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन पनि हजारौँ व्रतालुको भीड लागेको थियो ।

उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगा सहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।

प्रदेश समाचार मनोरञ्जन मुख्य समाचार समाचार समाज स्थानीय