नेकपा(एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजबाट चितवनको सौराहामा शुरु

 

चितवन / नेकपा(एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजबाट चितवनको सौराहामा शुरु भएको छ । बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुरु भएको हो ।

बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष ओलीले सुदृढ पार्टी निर्माणका लागि समझदारी, सहमति र एकता मुख्य कुरा भएको वताउनुभयो । उहाँले पार्टीप्रति जनताको व्यापक जनसहभागिता र उत्साहले अहिले विरोधीहरु अताल्लीन थालेको र जनताको उत्साहले आगामी निर्वाचनमा एमालेको बहुमतलाई कुनै तागतले रोक्न नसक्ने दाबी गर्नुभयो ।

” एकता र अनुशासित पार्टीका नेता कार्यकर्ताको पंतिले पार्टी बलियो बनाउँछ, देश जोगाउँछ । पार्टीमा सहमति, समझदारी र एकताले सक्षम नेतृत्व निर्माण हुने छ । मुलुकको भविष्य जोगाउनका निम्ति पार्टीलाई एकताबद्ध र संगठित बनाउने जिम्मेवारी तपाईहरुकै काँधमा छ । ” अध्यक्ष ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले एमालेको निमन्त्रणामा महाधिवेशनमा आउनुभएका विभिन्न देशका भाइचारा तथा मित्र पार्टीका प्रतिनिधिहरु तथा शुभकामना सन्देश पठाउनु हुनेहरुप्रति धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो ।

बिहान १० बजेबाट सुरुहुने भनिएको बन्द सत्र दिउँसो ३ बजेबाट मात्र सुरुभएको थियो । बन्द सत्रमा विभिन्न देशका भाइचारा तथा मित्र पार्टीका प्रतिनिधिहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । बन्दसत्रमा कम्युनिष्ट पार्टी अफ बंगलादेशका मो. हसन तारिक्यू चौधरी, हसनसिन चौधरी, अब्दुल्लाह अल काफी, भारतीय कम्युनिष्ट पार्टी (माक्र्सबादी) का जोगिन्द्र शर्मा, जनता विमुक्ति पेरामुनाका विजिथा हेराथ, कम्बोडियन पिपुल्स पार्टीका स्वोस यारा, कम्यनिष्ट पार्टी अफ इण्डिया माले लिबरेशनका सन्दिप सौरभले महाधिवेशन सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यस्तै चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय मामिला विभागका उपमन्त्री छेन चाओले पठाउनुभएको भिडियो सन्देश तथा भारतको काँग्रेस आइका अध्यक्ष सोनिया गान्धी लगायत भाइचारा तथा मित्र पार्टीले पठाएका शुभकामना सन्देश बाचन गरिएको एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो ।

मुख्य समाचार राजनीति समाचार