कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

काठमाण्डौं। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नु भएको छ।

मुख्यमन्त्री शाहीले आज प्रदेशसभा बैठकमा राखेकोविश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले बहिष्कार गरेको आजको  बैठकमा २२प्रदेशसभा सांसद उपस्थित भएका थिए ।

यसअघि मुख्यमन्त्री शाहीले हिजो विश्वासको मत लिने तय भए पनि कतिपय एमाले सांसद पार्टीको महाधिवेशनको क्रममा चितवनमा रहेको भन्दै आजका लागि सारिएको थियो । तर आज पनि एमाले सांसदहरु प्रदेशसभा बैठकमा अनुपस्थित भएका थिए । आज प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री शाहीले एमाले अनुपस्थित हुनुलाई आफूले सहयोगकै रुपमा बुझेको बताउनुभयो ।

कांग्रेसको कर्णाली प्रदेशसभा संसदीय दलका सचेतक हिमबहादुर शाहीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यताका कारण विपक्षी दलको उपस्थितिविनै विश्वासको मत लिनुपरेको बताउनुभयो । सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको र उक्त मत कर्णाली प्रदेशसभाको सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्री शाहीले विश्वासको मत पाएको घोषणा गर्नु भएको हो ।

मुख्यमन्त्री शाहीलाई नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले मत दिएका छन् ।००००

मुख्य समाचार राजनीति