मकवानपुरगढीमा यहि मंसिर २७ र २८ गते कोरोना विरुद्धको खोप लगाइने

२५ मंसिर , मक्रान्चुली – मकवानपुरगढीमा यहि मंसिर २७ र २८ गते कोरोना विरुद्धको खोप लगाउन लागिएको छ । यस अघि खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा र यस अघि खोप नलगाएकाहरुलाई खोपको पहिलो मात्रा लगाउन लागिएको हो ।

गत कार्तिक २९ र ३० गते मकवानपुरगढीका विभिन्न स्वास्थ्य संस्थाहरुबाट कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई भेरोसेल खोपकै दोस्रो मात्रा र यस अघि विभित्र मितिमा एस्ट्राजेनेका खोपको प्रथम मात्रा लगाएका सम्पूर्ण ब्यक्तिहरुलाई दोश्रो मात्रा एस्ट्राजेनेका/कोभिसिल्ड खोप लगाउन लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनु भएको छ ।

यसैगरी हालसम्म कोभिड १९ विरुद्धको कुनै पनि खोप नलगाएका १८ वर्ष माथिका नागरिकहरुलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन लागिएको लामिछाने बताउनुभयो । दोश्रो खोप लगाउन आउने ब्यक्तिहरुले भने पहिलो खोप लगाएको कार्ड अनिवार्य लिएर आउन पर्ने पनि उहाँले बताउनु भएको छ ।

तोकिएको दिन बिहान १० बजेदेखि ४ बजेसम्म पालिकाका ८ वडा कै सबै स्वास्थ्य केन्द्रहरुबाट खोप लगाइने भएको हुँदा आफुलाई पायक पर्ने स्थानबाट खोप लगाउन सकिने गाउँपालिकाले जनाएको छ ।

प्रदेश समाचार मुख्य समाचार समाचार स्वास्थ्य