मकवानपुरमा धान उत्पादनमा वृद्धि, यसबर्ष मात्रै ४६ हजार मेट्रिकटन उत्पादन

काठमाण्डौं । मकवानपुरमा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ ।

गतवर्ष ४४ हजार ४० मेट्रिकटन उत्पादन भएकामा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनले यसवर्ष दुई हजार २५७ मेट्रिक टनले उत्पादन बढेको जानकारी दिनुभयो ।

जिल्लामा यसवर्ष ३.७४ प्रतिहेक्टर उत्पादकत्व भएकोमा गतवर्ष ३.७ प्रतिहेक्टर उत्पादकत्व रहेको थियो । उहाँले आधुनिक कृषि प्रणाली, सिँचाइ सुविधा, कृषकमा कृषिसम्बन्धी ज्ञान तथा उन्नत बीउबीजनका कारण जिल्लामा धान उत्पादन बढेको बताउनुभयो । जिल्लामा कूल १३ हजार ४२० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको उहाँको भनाइ छ । उक्त क्षेत्रफलमा अनुमानित ५० हजार १९० मेट्रिकटन उत्पादन हुनुपर्नेमा बेमौसमी वर्षाले तीन हजार ५१३ मेट्रिकटन धान क्षति भएको सूचना अधिकारी पुनले बताउनुभयो ।

जिल्लामा सावित्री, सावा, रामधान, मकवानपुरे, वार लगायतका धान लगाइन्छ । जिल्लाका सबै स्थानीय तहमा धान खेती हुने गरेको छ ।सबैभन्दा धेरै मनहरि गाउँपालिकामा धान खेती हुने गरेको छ । त्यहाँ तीन हजार ९२५ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ ।००००

मुख्य समाचार समाचार स्थानीय