‘१२ सय दिन मुख्यमन्त्री हुनेले ५० दिन मुख्यमन्त्री हुनेसँग के गरिस भनेर सोध्ने’ -मुख्यमन्त्री पाण्डे

काठमाण्डौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा एमालेले संसदीय मूल्य, मान्यता र अभ्यासलाई नै सिध्याउन खोजेको आरोप लगाउनु भएको छ ।

आज प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएसँगै सभामुख सानुकुमार श्रेष्ठसँग विशेष समय लिएर बोल्दै पाण्डेले एमालेले संसदीय मूल्य, मान्यता, नियमावाली र अभ्यासविरुद्ध अगाडि बढेको आरोप लगाउनु भएको हो ।

उहाँले आफू अस्वस्थ भएको अवस्थामा पनि सदनमा विपक्षी दलले उठाएको प्रश्नको जवाफ दिन उपस्थित हुँदा प्रमुख प्रतिपक्षी दल सदनमा अनुपस्थित भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले पूर्वमुख्यमन्त्री डोरमणि पौडेलप्रति लक्षित गर्दै १२ सय ९० दिन मुख्यमन्त्री हुनेले ५६ दिन मुख्यमन्त्री हुनेसँग प्रगति विवरण सोध्न नमिल्ने जिकिर समेत गर्नुभयो ।

उहाँले प्रदेश सरकारसँग जम्मा ५७ अर्बको बजेट रहेकाले १८ अर्बको सुरुङ मार्ग मात्रै निर्माण गर्न कठिन हुने प्रष्ट पार्नुभयो । स्तरीय सडक र चार्जिङ स्टेशन नभएसम्म विद्युतीय बस सञ्चालन गर्नु जनकपुरको रेललाई त्रिपाल ओढाएर राख्नु सरह हुने उहाँको भनाई थियो । आफ्नो नेतृत्वको सरकारमाथि लागेको आरोपको उत्तर दिन खोज्दा सभामखुले उक्त विषय कार्यसूचीबाट हटाएको भन्दै मुख्यमन्त्री पाण्डेले आक्रोश व्यक्त गर्नु भएको थियो ।०००

मुख्य समाचार राजनीति