प्रधानन्यायाधीश जबराविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा उजुरी


काठमाडौं । 
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति छानबिन मागसहित नागरिक अभियन्ताहरुको एउटा टोली सम्पत्ति शुद्धीकरण विभागमा पुगेको छ। 

डा. गोविन्द केसीसहितका नागरिक अभियन्ताहरु जबराको सम्पत्ति खोजबिन र अनुसन्धान मागसहित उजुरी लिएर विभागमा पुगेका हुन्।

उजुरी लिएर विभागमा पुग्नेहरूमा डा. गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, मोहना अन्सारी र अधिवक्ता ओमप्रकाश अर्याल लगायत छन्। 

जबराविरुद्ध अनुसन्धान अघि बढाउने पहलका लागि नेपाल बार एसोसिएसनले ढिलाइ गरेपछि आफूहरु आउनु परेको उनीहरुले बताएका छन्। 

‘नेपाल बारले ढिलो गरेकाले डा केसीको अगुवाइमा हामी विभागमा आउनुपरेको हो’, अधिवक्ता अर्यालले भने, ‘विभागले हाम्रो मागमाथि सुनुवाइ गर्दै जबराको सम्पत्ति खोज्ने विश्वास हामीले लिएका छौँ।’

उनीहरुले विभागमा दिएको उजुरीमा जबराले परिवारका अन्य सदस्यका नाममा लगानी गरेको र अवैध सम्पत्ति लुकाएको आरोप लगाएका छन्। 

उजुरीमा जबराले आफू विशेष अदालतको न्यायाधीश हुँदा अवैध आर्जन गरेको करोडौं रुपैयाँ पत्नी रेजी राणा (क्षेत्री) मार्फत २०६५ सालमा काठमाडौं महानगरपालिका-३० ठमेल स्थित कित्ता नम्बर १०९ र कि.नं. ११० को बहुमूल्य जग्गा (हाल करिब ४० करोड भनिएको) मा लगानी गरेको दाबी गरिएको छ। त्यस्तै जबरा स्वयं संलग्न दर्जनौं घटना विवरण प्रकाशमा आएका पनि बताइएको छ।

यसअघि कात्तिक ८ गतेयता जारी आन्दोलनका क्रममा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमै ‘सम्पत्ति शुद्धीकरण कहाँ छ? भ्रष्ट चोलेन्द्र यहाँ छ’, जस्ता नारा लगाउँदै आएका थिए।

तर बारले जबराविरुद्ध छानबिनका लागि कानुनी प्रक्रिया अपनाउन भने आनाकानी गर्दै आएको थियो। नागरिक अभियन्ताहरुले सम्पत्ति शुद्धीकरण विभागले माग अन्य आवश्यक सहयोग पनि गर्ने बताएका छन्। 

विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले नागरिक अभियन्ताहरुको उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाउने बताएका छन्। ‘हामी उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाउँछौँ’, भट्टराई भने, ‘तपाईंहरुको उजुरी दर्ता भइसकेको छ (दर्ता नं २५७६)। आवश्यक प्रक्रिया सुरु गर्छौँ।’

मुख्य समाचार राजनीति