तनहँको मानहुँकोट ५० वर्षको लागी कब्जामा लिदै बतास समुह

काठमाडौं । तनहुँको पर्यटकीय क्षेत्र मानहुँकोट डाँडा ५० वर्षको लागि बतास समूहलाई लिजमा दिने तयारी भएको छ ।

बतास समूहको व्यास हिल्स प्रालिलाई मानहुँकोटको सार्वजनिक जग्गा ५० वर्षका लागि लिजमा दिन व्यास नगरपालिकाको बोर्ड बैठकले स्वीकृतिसमेत दिइसकेको छ ।

बतास समूहको ब्यास हिल्सले मानहुँकोटको करिब ४० रोपनी सार्वजनिक जग्गा र बाँकी निजी जग्गासमेत लिजमा लिएर केबलकार, रिसोर्ट लगायतको संरचना बनाउने प्रस्ताव गत वर्षमात्रै ब्यास नगरपालिकामा पेस गरेको थियो ।

ब्यास–५ पाटनदेखि मानहुँकोट डाँडासम्म जिपलाइन, केबलकार बनाउने र रिसोर्ट चलाउने गरी बतासले चार अर्ब रुपैयाँको परियोजनाको प्रस्ताव नगरपालिकामा गरेको थियो । तर, त्यो प्रस्ताव अगाडि बढ्न सकेको थिएन । बिहीबार बसेको ब्यास नगरपालिकाको बोर्ड बैठकले भने परियोजनाका लागि स्वीकृति दिने निर्णय गरेको हो ।

प्रदेश नीति तथा योजना आयोगसँग छलफल गर्ने, प्रदेश सरकारबाट सिफारिस गराएर संघीय मन्त्रिपरिषदबाट जग्गा लिजमा दिने निर्णय गर्ने गरी प्रक्रिया अगाडि बढेको मानहुँकोट रहेकै वडाका वडाध्यक्ष तथा नगरका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

‘एक वर्षअघि नै प्रस्ताव आएको थियो । विभिन्न कारणले रोकिएको थियो । त्यति लामो समयका लागि लिजमा दिने कि नदिने भन्ने पनि थियो । बिहीबारको बोर्ड बैठकमा मेयर साबले प्रस्ताव राख्नुभयो र प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘बतासले केही सार्वजनिक र केही निजी जग्गामा परियोजनाको प्रस्ताव गरेको छ ।’

मुख्य समाचार समाचार