कोभिड नियन्त्रण प्रतिकार्य समुहद्वारा आर्थिक सहयोग

३ माघ , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ मा गठन भएको कोभिड नियन्त्रण प्रतिकार्य समुहले आर्थिक स्थिति कमजोर भएका वडा नं ३ को एक परिवारलाई मृत्यु संस्कारका निम्ति आर्थिक सहयोग गरेको छ ।

वडा नं ३ देविडाँडा निवासी ७६ वर्षीय स्वर्गीय कृष्ण प्रसाद तिमल्सिनाकि धर्मपत्नी टीका कुमारी तिमल्सिनालाई सोमबार (आज) स्वर्गीय तिमल्सिनाको तेर्हौ दिनको पुन्यतिथीका दिन सो सहयोग रकम रु. १० हजार (बैंक चेक) हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण गर्दै वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेले स्वर्गीय तिमल्सिना प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस अघि पनि यस्तै अवस्थामा आर्थिक अवस्था कमजोर भएका विभिन्न ४ परिवारलाई रु. १० हजारका दरले सहयोग गरिएको भन्दै यस सहयोगले थोरै भएपनी राहत पुग्ने धारणा व्यक्त गर्नुभयो ।

गत वर्ष गठित यस कोभिड नियन्त्रण प्रतिकार्य समुहमा वडाध्यक्ष भागवत घिमिरेको अध्यक्षतामा वडा भित्रका विभिन्न टोलविकास संस्थाका अध्यक्षहरु , स्वास्थ्यकर्मी , शिक्षक, सहकारी प्रतिनिधि , सुरक्षानिकाय , संचारकर्मी लगायत संलग्न रहेका छन् । समुहले यस अघि कोभिडको संक्रमण दर उच्च भएका बेला संक्रमितको घर-घरमै पुगि औषधि , पोषिलो खानेकुरा , खाद्यान्न लगायतका सामाग्री सहयोग गरेको थियो । सो समुहलाई विभिन्न सहयोगीहरुबाट आर्थिक तथा जिन्सी सहयोग प्राप्त भएको थियो । आर्थिक सहजता तथा पारदर्शिताका लागि समुहले बैंक मार्फत आर्थिक कारोबार गरेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा सो समुहकी कोषाध्यक्ष एवम् श्रमिक सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल , मधुसुदन देवकोटा , भोलानाथ दाहाल , सरोज ढुङ्गाना , संचारकर्मी गोविन्द शर्मा तिमल्सिना लगायतकाको उपस्थिती रहेको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय