मकवानपुरगढीमा ११ हजार ५७२ लाई पहिलो र ९ हजार १४ जनालाई दोश्रो मात्रा कोरोना खोप

७ माघ , मक्रान्चुली- मकवानपुरगढीमा हालसम्म ११ हजार ५७२ जनालाई पहिलो र ९ हजार १४ जनालाई दोश्रो मात्रा कोरोना विरुद्धको खोप लगाइएको छ ।

मकवानपुरगढी गाउँपालिका स्तरीय कोभिड-१९ रोकथाम तथा नियन्त्रण समन्वय समितिको शुक्रबार (आज) भएको बैठकमा गाउँपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले सो जानकारी गराउनु भएको हो ।

गाउँपालिकामा कोरोनाको तेस्रो लहरबाट माघ ६ गते (हिजो) सम्म ७९ जना संक्रमित भएको र उनिहरु सबैजना सक्रिय संक्रमित अवस्थामा नै रहेको पनि लामिछानेले बताउनुभयो । बढी संक्रमित हुने वडाहरुमा २,३,४,५ र ६ रहेका छन् ।

हाल मकवानपुरगढीमा कोभिड अस्थाई अस्पताल मक्रान्चुली, आमभन्ज्याङ्ग स्वास्थ्य चौकी , मकवानपुरगढी स्वास्थ्य चौकी र बुढीचौर स्वास्थ्य चौकिबाट एन्टिजेन परिक्षण गर्ने ब्यवस्था मिलाइएको र छिट्टै नै मकवानपुरगढी १ मा रहेको स्वास्थ्य चौकीबाट पनि एन्टिजेन परिक्षण गरिने बताइएको छ ।

गाउँपालिकाले पालिका कार्यालय तथा मातहतका कार्यालयमा आउँदा सेवाग्राहीले कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य लिएर आउनुपर्ने तथा खोप नलगाएको भए तुरुन्त आफुलाई पायक पर्ने स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन पनि अनुरोध गरेको छ ।

गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको अध्यक्षतामा भएको बैठकमा गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बा , प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी , वडा अध्यक्षहरु , गाउँ कार्यपालिकाका सदस्य , स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरू , राजनीतिक पार्टीका प्रतिनिधि , ईलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रमुख , पत्रकार लगायतकाको उपस्थिति रहेको थियो ।

बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार , बागमती प्रदेश सरकार , जिल्ला समन्वय समिती/जिल्ला प्रशासन कार्यालय , मकवानपुरको निर्देशन तथा परिपत्रलाई पालना गर्ने गराउने समेत निर्णय गरेको छ ।

मुख्य समाचार समाचार स्वास्थ्य