पाँचदलिय गठबन्धनसँग एमाले एक्लै चुनाव लड्न तयार छ – महेश बस्नेत

 

हेटौंडा / नेकपा एमालेका केन्द्रीय सदस्य एवं पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेकपा एमालेले पाँच दलिय गठबन्धनसँग एक्लै चुनाव लड्न तयार रहेको बताउनु भएको छ ।

बिहिबार हेटौँडामा प्रेस चौतारी मकवानपुरको आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता वस्नेतले गठबन्धन बिरुद्ध एमाले एक्लै लडन तयार रहेकाले संविधान अनुसार स्थानीय तहको मिति तत्काल घोषणा गर्न सरकारसङ्ग माग गर्नु भएको हो ।

‘एक्लै चुनाव लड्न तयार छौं । पाँच दल एउटै दलमा परिणत भए हुन्छ । देशले स्थिरता पनि पाउँछ ।’, नेता बस्नेतले भने ।
उहाँले मकवानपुर जिल्लाबाट स्वास्थ्य मन्त्री बन्नुभएका विरोध खतिवडालाई आफ्नो कामको विषयमा केही ज्ञान नै नभएको भन्दै केपी ओलीको बारेमा भजन गाएर मात्र दिन वितिरहेको बताउनुभयो ।
नेता बस्नेतले एमाले पार्टी र अध्यक्ष केपी शर्मा ओलीलाई हिटलर भनेको भन्दै जनता समाजवादी पार्टीका नेता बाबुराममाथि आक्रोश ब्यक्त गरे । उहाँले मान्छेलाई जिउँदै लगाएर मार्नेले एमाले र ओलीलाई अधिनायकवादी र हिटलर भन्नु ठिक नभएको टिप्पणी गरे ।
क्रान्तिका नाममा जनताका छोराछोरी र एमाले कार्यकर्तालाई होलेरी, बाँदरमुँडेमा जिउँदै जलाएर र बम पड्काएर हत्या गर्नेले एमाले र ओलीलाई अधिनायकवादी र हिटलर भन्ने ?’ बस्नेतले भने, ‘होलेरीमा ८–९ जना साथीहरुलाई घरभित्र जलाएर मारेको उहाँको कालो इतिहास छ । बाँदुरमुँडेमा सयौं जना यात्रुलाई बम पड्काएर मारेको इतिहास छ । असंख्य मान्छेको हत्या गरेर उहाँहरु नै एमाले र ओलीलाई अधिनायकवादी भयो हिटलर भयो भनेर ठूला कुरा गर्छन् ।’
प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल, युवा संघका नेता सन्तोस चौलागाईं लगायतकाको उपस्थिति रहेको थियो ।

मुख्य समाचार राजनीति समाचार स्थानीय