बागमती प्रदेशः २ वटा संसदीय समितिको निर्वाचनको लागि मनोनयन दर्ता जारी

हेटौँडा/ बागमती प्रदेशसभा अन्तरगत रहेको २ वटा संसदीय समितिको भोलि हुने निर्वाचनको लागि आज उम्मेदवारी मनोनयन भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ । अर्थ तथा विकास समिति र शिक्षा स्वास्थ्य तथा कृषि समितिको भोलि हुने निर्वाचनमा सभापति पदको मनानयन दर्ता आइतबार भइरहेको प्रदेशसभा सचिवालयका सह–प्रवक्ता उमेशराज सोतीले तु खबरलाई जानकारी दिए । उनका अनुसार मनोनयन दर्ता कार्यक्रम साँझ ५ बजेसम्म हुनेछ ।

वैशाखदेखि रिक्त रहेको अर्थ तथा विकास समितिमा २२ जना सदस्यमध्ये एकजना सभापति चयन गरिनेछ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन गरिनेछ । अर्थ तथा विकास समितिका सदस्यहरु सन्तबहादुर प्रजा र दीपेन्द्र श्रेष्ठ प्रदेश सरकारको मन्त्री रहको कारण उनीहरु निर्वाचनमा सहभागी हुनेछैनन् । अर्थ तथा विकास समितिका तत्कालिन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री वनेसँगै उक्त पद रिक्त रहेको थियो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त रहेको छ ।

प्रदेशसभा सचिवालयका अनुसार अर्थ तथा विकास समितिको सभापति पदको निर्वाचन सोमबार मध्यान्ह १२ बजेका लागि र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचन सोमबार दिनको २ बजेका लागि तय गरिएको छ । तु खबरबाट साभार

प्रदेश समाचार समाचार समाज