साहित्य संगम मकवानपुरले विभिन्न विधाका ८ जना साहित्यकारलाई सम्मान गर्दै

हेटौँडा/ साहित्य संगम मकवानपुरको मंगलबार बसेको बैठकले ८ जना साहित्यकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। यस्तै, साहित्य संगम मकवानपुरले स्थापना गरेको मकवानपुर साहित्य श्रीबाट साहित्यकार सुवास खनाललाई, भेषनाथ अधिकारी स्मृति पुरस्कार साहित्यकार मनोज भण्डारीलाई, हाल अमेरिका निवासी दीपक मुडभरीले मातापिताको नाममा स्थापना गरेको शुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार साहित्यकार दीपक गौतमलाई, शिक्षासेवी देवप्रसाद श्रेष्ठले आमाको नाममा स्थापना गरेको मंगलादेवी श्रेष्ठ स्मृति नारी पुरस्कार साहित्यकार रुकु कार्कीलाई प्रदान गरिने भएको हो ।

संगमकी अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा बसेको बैठकले संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार साहित्यका विभिन्न विधामा योगदान पुर्याएका साहित्यकारलाई प्रदान गर्ने निर्णय गरेको हो । संगमले भैरव अर्याल स्मृति सम्मान यस वर्ष हरिकला उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी, हाँस्यव्यंग्यकार आरसी रिजालले आमाको नाममा स्थापना गरेको अणकुमारी स्मृति साहित्य पुरस्कार बालजागृति इङ्लिस बोर्डिङ स्कुलकी सुविज्ञा सुवेदीलाई, शेषजङ्ग स्मृति कथा पुरस्कार हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत् उषाकिरण अधिकारीलाई, साहित्यसेवी मुक्तिगोविन्द वैद्यले स्थापना गरेको मुक्ति–तारा साहित्य पुरस्कार समीक्षक घनश्याम घिमिरेलाई प्रदान गरिने भएको संगमकी अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।

समाचार समाज साहित्य स्थानीय