बलात्कार आरोपमा एक जना पक्राउ

हेटौँडा/ बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मोरङको सुन्दरहरैँचा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कृत भएकी मोरङ प्रहरीले जनाएको छ। बालिकालाई सुन्दरहरैँचका ५३ वर्षीय रामदेव चौधरीले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

‘बालिकालाई बुधबार साँझ ललाइफकाई घर नजिकको बाँसघारीमा लगेर चौधरीले बालिकालाई बलात्कार गरेको खुलेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘घटना बाहिरिएपछि बालिका बलात्कारमा संलग्न चौधरीलाई पक्राउ गरेका हौं।’

पीडित बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र पीडककोसमेत स्वास्थ्य परीक्षण धरानमै भएको छ। पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

समाचार समाज