हिउँ पन्छाएपछि खुल्यो जोमसोम–लोमान्थाङ सडक

हेटौँडा/ गएको बिहीवार र शुक्रवार परेको हिउँका कारण बन्द जोमसोम–लोमान्थाङ सडक आज (शुक्रवार) देखि खुुलेको छ । दुई दिन लगाएर डोजरको सहायतामा सडकमा जमेको हिउँ पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।मुस्ताङको बाह्रगुङ मुुक्ति क्षेत्र गाउँपालिकाको समरदेखि लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको केन्द्र चराङसम्मको सडकमा जमेको हिउँ पन्छाएर सडक खुलाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । सडकमा जमेको बाक्लो हिउँ डोजरले कोतरेर फालेपछि सडक सञ्चालकमा आएको हो ।

सडकमा जमेको हिउँ पन्छाएर एक हप्तादेखि बन्दसडक खुलाइएको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शोभा पुनले बताउनुभयो । उहाँले सडकमा झन्डै दुई फिटसम्म जमेको हिउँ पन्छाएर सडक खुलेपछि आज बिहानैदेखि जीप, ट्रक र ट्र्याक्टर चल्न थालेको जानकारी दिनुभयो । पहिलो दिन चराङदेखि स्याङ्बोचे र दोस्रो दिन स्याङ्बोचेदेखि समरसम्म सडकको हिउँ पन्छाइएको थियो ।

सडकमा जमेको हिउँ पन्छाएर सडक सफा गरेपछि बीचमै रोकिएका सवारीसाधन तथा मानिसहरू आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । सडकमा जमेको बाक्लो हिउँका कारण दैनिक उपभोग्यलगायत खाद्यान्न तथा मालसामान र विकास निर्माणका सामग्री बोकेका सवारीसाधन बीच बाटोमै रोकिएका थिए ।

हिमपातले कतै उत्साह छाएको भए पनि हिमाली क्षेत्रमा भने लामो समयसम्म हिउँ रहने हुँदा स्थानीयवासीलाई सास्ती हुने गरेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कोरला सडकको एक सय १० किलोमिटर दुरी रहेको छ ।

मुख्य समाचार समाचार