बकैयामा बालमैत्री घोषणाको प्रथम वार्षिकोत्सव सम्पन्न

हेटौँडा/ मकवानपुरको बकैया गाउँपालिकाले बालमैत्री घोषणा भएको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा गाउँपालिकाले वडा बाल सञ्जाललाई ५० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री वितरण गरेको थियो । यसैगरी, सोही अवसरमा ‘सबै पक्षको सरोकार, बालमैत्री व्यवहार हाम्रो अधिकार’ विषयक् वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो ।

गाउँपालिकाले बाल सञ्जाललाई खेल सामग्री वितरण, बालअधिकार संरक्षणमा क्रियाशील व्यक्तिलाई सम्मान गर्नुका साथै वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी बालमैत्री घोषणाको प्रथम वार्षिकोत्सव मनाएको हो । उक्त प्रतियोगितामा कालीदेवी माविका सिमोन मोक्तान प्रथम, प्रभात माविकी डोल्मा पाख्रिन द्वितीय, जनजागृति माविकी भावना दोङ तृतीय र जनक माविकी संगीता गुरुङ सान्त्वना भएका थिए ।

गाउँपालिकाले बालअधिकारकर्मी सिविन बालहेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवाली र मामाघर नेपालका परिकल्पनाकार एवम् संरक्षक अर्पण पराजुली र स्थानीय बालअधिकारकर्मी भक्त भोलनलाई सम्मान गरेको थियो । बालमैत्री बकैया गाउँपालिकाका अध्यक्ष सिमोन भोलनको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीको आतिथ्यता रहेको थियो ।

 

शिक्षा समाचार समाज स्थानीय