वरिष्ठ साहित्यकार शर्माको निधन

हेटौँडा/ वरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन भएको छ। आज विहान बत्तीसपुतलीस्थित आफ्नै निवासमा ८७ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।शर्मा लामो समयदेखि डिमेन्सिया (विस्मृति)  रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको स्वास्थ्य समस्या झेल्दै आएका थिए।

इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक बनेर उभिएको छ।

‘बेलायततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध संग्रहका लेखक शर्माका नेपाली, अंग्रेजी, भाषा, ब्याकरणसहितका १ सयभन्दा बढी पुस्तक प्रकाशित छन्।

शर्माले ‘बेलायततिर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार पाएका थिए। शर्माको माध्यमिक तह पाठ्यक्रममा रहेको ‘घनघस्याको उकालो काट्ता’ निबन्धले उनको नियात्रा लेखनको अनौपचारिक र रोचक शैलीलाई चिनाउन सुरु गरेको हो।

शर्माको आजै मध्यान्ह १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ। शर्माका श्रीमती र दुई छोरा छन्।

समाचार समाज साहित्य