एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने

हेटौँडा/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै निरन्तर बैठक अवरोध गर्दै आएको एमाले बुधबारको बैठक पनि अवरोध गर्ने भएको एमाले सांसद शेरबहादुर तामाङले बताए ।

उनले भने, ‘हामीहरूको माग पूरा भएको छैन । बुधबार बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्छ,’ बुधबार बस्ने संसद बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो । आफूले पदमुक्त गरेका १४ जना सांसदको कारबाहीको सूचना जारी नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा भूमिका खेलेको भन्दै एमालेले निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ ।

मंगलबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले भोलि बस्ने संसद बैठकमा एमसीसी टेबल गराउने निर्णय गरेको छ । साथै कांग्रेस बैठकमा प्रधानन्यायाधीश विरुद्धको महाभियोग पास गर्नका लागि पनि छलफल भएको थियो । संसदको अर्को बैठक भोलि १ बजेका लागि बोलाइएको छ ।

मुख्य समाचार राजनीति समाचार समाज