नोबेल मेडिकल कलेजका १४ विद्यार्थीलाई सुरक्षा खतरा !

हेटौँडा–एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा आन्दोलनमा उत्रिएका नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थीले आफूहरूलाई सुरक्षा खतरा रहेको बताएका छन् ।

एमबिबिएस प्रथम वर्षमा अध्ययनरत १४ विद्यार्थीले कलेज प्रशासनबाट अभिभावक र आफूहरुमाथि सुरक्षा खतरा रहेको भन्दै अर्को कलेजमा पढ्ने व्यवस्था मिलाउन माग गरेका हुन् । कलेज प्रशासनले लिएको अतिरिक्त शुल्कको विरोधमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत ८१ विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । तीमध्ये अग्रंक्तिमा रहेका १४ जना विद्यार्थीले नोबेलमा आफूहरुलाई सुरक्षा खतरा रहेको बताएका हुन् । अरु विद्यार्थी भने पढाइमा फर्किएका छन्

उनीहरूले कलेज स्थानान्तरणका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर आग्रह गरेका थिए । प्रधानमन्त्रीबाट मौखिक आश्वासन पाएको उनीहरूले बताएका छन् । विद्यार्थीले स्थानान्तरणका लागि माघ ७ गते शिक्षा मन्त्रालयमा निवेदन दिएका थिए । मन्त्रालयले सुनुवाइ नगरेपछि माघ १७ गते चिकित्सा शिक्षा आयोगमा निवेदन दिएका थिए ।

गत पुस पहिलो सातादेखि नोबेलमा एमबीबीएस प्रथम वर्षको कक्षा सञ्चालन भइरहेको छ । तर पुस १४ गते अतिरिक्त शुल्क नबुझाएको भन्दै कलेज प्रशासनले कक्षाबाट निकालेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका क्रममा कलेजमा तोडफोड पनि भएको थियो ।

 

मुख्य समाचार राजनीति शिक्षा समाचार समाज स्थानीय स्वास्थ्य