देशको धरातलीय यथार्थलाई मनन गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपर्ने: थापा

हेटौँडा/ राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको धरातलीय यथार्थलाई मनन गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको बताएका छन् । सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले देशव्यापी जनजागरण चलाउने उनले बताए ।

भातृ संगठनहरूको संयुक्त बैठकलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाललाई अन्तर्राष्ट्रिय शक्तिको रणनीतिक प्रतिस्पर्धाको थलो बनाइने खतरा बढेको र जिम्मेवार भनिएका राजनीतिक दलहरूले उनीहरूलाई सहयोग पुग्नेगरी निर्बाध आमन्त्रण गर्ने परिपाटी बसालेको भन्दै त्यसको अन्त्य गर्न राप्रपा नेपाललाई बलियो शक्ति बनाउनुपर्ने बताए ।

पार्टीलाई ठुलो बनाउने नाममा गणतन्त्र बोकेका लगायतलाई राप्रपामा भित्र्याएपछि पछिल्लो समयमा राजसंस्था पुनर्स्थापनाको मुद्दालाई मात्र अगाडि सारेर हिन्दुराष्ट्र, सुशासन, विकास जस्ता मान्यतालाई समेत ओझेल पार्ने काम भएकोले राप्रपा नेपाललाई ब्यूताउन बाध्य भएको जानकारी दिँदै अध्यक्ष थापाले अब राप्रपा नेपालले रणनीतिक रूपमा हिन्दुराष्ट्र, सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाएर अघि बढ्ने भएकोले सबै भातृ संगठनहरूलाई आम जनता समक्ष यो सन्देश पुर्‍याउन निर्देशन दिए ।

सनातनदेखि चलिआएको धर्म परम्परा र संस्कृतिको संरक्षण गर्दै देशको विकास गर्ने सम्बर्द्धनवादको सिद्धान्त अवलम्बन गरी पार्टीको दायरा फराकिलो पारेर ९४ प्रतिशत ओमकार परिवारसँग जोडिएर पार्टीलाई अघि बढाउने राप्रपा नेपालको लक्ष्य रहेको पनि उनले प्रस्ट पारे ।

बैठकमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका अध्यक्ष ममता राई, राप्रयुसंका उपाध्यक्ष दामोदर वाग्ले, पूर्व प्रहरी परिषद्का अध्यक्ष हरिहर श्रेष्ठ, राप्रविसंका कावा अध्यक्ष शशि भण्डारी, सनातन धर्म संस्कृति संगठनका सुजन अधिकारी, राष्ट्रिय प्रजातान्त्रिक उत्पिडीत संगठनका उपाध्यक्ष सरला विक, ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का प्रथम उपाध्यक्ष आनन्द कुमार रिसाल, राप्रविसंका पूर्व अध्यक्ष उज्ज्वल पोखरेललगायतले आफ्नो धारणा राखेका थिए ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार समाज स्थानीय