एमसीसीमा एमालेको कुनै धारणा छैन : सुवास नेम्वाङ

हेटौँडा/ नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीका विषयमा सरकारमा रहेका दलहरूले एउटै धारणा बनाएपछि मात्रै एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् । सरकारमा रहेका दलहरुले एमसीसीबारे समान धारणा बनाउन आवश्यक रहेको भन्दै उनले थपे, ‘एमसीसीमा एमालेको कुनै धारणा छैन् । किनभने उहाँहरूले गठबन्धनबाट केही निर्णय नै गर्नुभएको छैन् ।’ एमसीसी संसदमा टेबुल गर्ने प्रयासमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार साँझ एमाले अध्यक्ष केपी ओलीसंग भेटेका थिए । उक्त भेटपछि एमालेले कुनै धारणा बनायो कि रु भन्ने प्रश्नमा नेम्वाङले पहिले सत्तागठबन्धनले नै समान धारणा बनाउन आवश्यक रहेको बताएका हुन् ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता पेस गर्ने सरकारको तयारी छ । तर, सत्तारुढ दलहरूका बीचमा सहमति भने जुटिसकेको छैन् । बरु एमालेले संसदमा आफ्नो अवरोध निरन्तर रहने बताएको छ । एमाले संसदीय दलका उपनेता नेम्वाङले भने, ‘संसदमा हाम्रो रणनीति परिवर्तन भएको छैन । आज पनि विरोध जारी राख्छौं । एमालेले २३ भदौ २०७८ देखि निरन्तर संसदमा अवरोध गर्दै आएको छ ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार समाज