पत्रकार पौडेलको हत्यामा कैद भुक्तान गरिरहेका गिरीलाई राष्ट्रपतिबाट माफी

हेटौँडा/ पत्रकार यादव पौडेलको हत्याका मुख्य अभियुक्त युवराज गिरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएकी छन्। प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले कर्तव्य ज्यान सम्बन्धी कसूरमा कैद भुक्तान गरिरहेका गिरीलाई शनिबार माफी दिएकी हुन्।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा भण्डारीले गिरीसहित ५०१ जनालाई आम माफी दिएकी छन्। उनले झण्डै १० वर्ष सजाय काटिसकेका थिए।

मोरङ सिजुवा घर भएका पत्रकार पौडेलको २१ चैत २०६८ मा झापाको बिर्तामोडस्थित बसपार्कमा हत्या भएको थियो। पुनरावेदन अदालत, इलामले २५ असार २०७१ मा पत्रकार पौडेलको हत्यामा संलग्न गिरीसहित तीन जनालाई जन्मकैदको फैसला सुनाएको थियो।

पत्रकार पौडेलको हत्या अभियोगमा होटल सञ्चालक सोम ढकाल, उनकी श्रीमती भनिएकी फूलमाया कार्की र होटल व्यवसायी गिरी पक्राउ परेका थिए ।

मुलुकी अपराध(संहिता) २०७४ को दफा १५९ मा भएको माफीसम्बन्धी व्यवस्था अनुसार गिरीले आममाफी पाएका हुन्। ऐनमा फैसलाबमोजिम सजाय पाएको व्यक्तिले गृह मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष निवेदन दिने प्रावधान छ। गृह मन्त्रालयले माफी सम्बन्धमा निर्णयका लागि सरकारसमक्ष कारण खुलाएर सिफारिस पेस गर्नु पर्ने व्यवस्था छ।

तीन तलामाथिबाट खसालेर हत्या गरिएका पत्रकार पौडेल तत्कालिन समयमा राजधानी दैनिक र एभिन्युज टेलिभिजनमा कार्यरत थिए।

मुख्य समाचार राजनीति समाचार समाज