मकवानपुरमा २९ वटा विद्यालयलाई भवन र ल्याब बनाउन अनुदान

हेटौँडा/ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०७८÷०७९ मा मकवानपुरमा २९ विद्यालयले अनुदान पाएका हुन् । अनुदान पाउनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाभित्रका विद्यालय छन् । हेउमनपाभित्रको आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रलाई चार कोठे भवन निर्माण गर्न ३६ लाख रुपियाँ अनुदान दिइने भएको छ ।

हेटौंडाकै प्रगति मावि, महेन्द्र किरण मावि, महेन्द्र मावि, जनजागृति मावि, बालबोध मावि, ज्योति मावि, अमर मावि र अरनिको माविलाई आइसीटी ल्याब स्थापना गर्न सरकारले अनुदान दिने भएको छ । यी सबै विद्यालयले ६ लाख ५० हजार रुपियाँका दरले रकम पाउने छन् । कैलाश गाउँपालिकाको एकमात्र कालिका मावि, इन्द्रसरोबर गाउँपालिकाको पञ्चकन्या मावि, मनहरीको एकमात्र युवावर्ष आधारभूत विद्यालय छनौट भएका छन् । यसैगरी, बागमती गाउँपालिकाको देवकी मावि, सूर्य मावि र जनता माविले आइसीटी ल्याब बनाउन अनुदान पाउने भएका छन् ।

बकैया गाउँपालिकाको कर्मप्राप्ति मावि, महेन्द्र मावि, बुद्ध मावि, बाघभैरव मावि, कालिका मावि, कालीदेवि मावि छनौट भएको जनाइएको छ । थाहा नगरपालिकाको बागेश्वरी मावि, सुनौला मावि, इन्द्रायणी मावि, स्वच्छन्दभैरव माविले आइसीटी ल्याब बनाउन जनही छलाख ५० हजार रुपियाँ अनुदान रकम पाउने भएका हुन् । मकवानपुरगढी गाउँपालिकाको बंशगोपाल माविले भने प्राविधिक ल्याब बनाउन १० लाख अनुदान रकम पाउने भएको छ । बंशगोपाल माविले प्राविधिक शिक्षालय पनि सञ्चालन गरिरहेको छ ।

यस्तै, मकवानपुरगढीकै जनक मावि र भीमफेदी गाउँपालिकाको लेकाली बसीफाँटले आइसीटी ल्याब स्थापनाका लागि अुनदान पाउने भएका छन् । जिल्लाकै विकट राक्सिराङ गाउँपालिकाका कुनैपनि विद्यालयलका लागि अनुदान स्वीकृत भएको छैन । देशभरका चार हजार एकसय ५७ सामुदायिक विद्यालय अनुदानका लागि छनोट भएका छन् । छानौट भएका मध्ये चार कोठे भवन नौ सय ७६, दुई कोठे भवन नौसय ६६, आइसीटी ल्याब व्यवस्थापन दुई हजार एकसय ६, प्राविधिक ल्याब ८८ र २१ वटा नयाँ प्राविधिक विद्यालय स्थापना गरिने भएको हो ।

प्रदेश समाचार मुख्य समाचार विज्ञान प्रविधि शिक्षा समाचार समाज स्थानीय