स्थानीय चुनावका लागि ६ वटा नयाँ पार्टी दर्ता

हेटौँडा/ आगामी ३० वैशाखमा हुने स्थानीय चुनावका लागि ६ वटा नयाँ पार्टी दर्ता भएका छन्। निर्वाचन आयोगले स्थानीय चुनावका लागि ५ फागुनदेखि दल दर्ता गर्न शुरू गरेको थियो। अहिलेसम्म नयाँ ६ वटा पार्टी दर्ता भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन्।

नयाँ थपिएका दलका जनता प्रगतिशील पार्टी, सामाजिक एकता पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल  कम्युनिस्ट पार्टी (गौरवशाली), साझा पार्टी नेपाल र समावेशी लोकतान्त्रिक पार्टी रहेका छन्। योसँगै निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १०९ पुगेको छ।

यस्तै, यसअघि दर्ता भएका पार्टीले पनि स्थानीय तहको चुनावमा सहभागिताका लागि निवेदन दिएका छन्। अहिलेसम्म १० पार्टीले निवेदन दिएको आयोगले जनाएको छ।

आयोगका अनुसार जनतम पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी दर्ता भएका छन्।

यससँगै आयोगले मतदाता परिचय पत्र हराएको, नासिएको वा कुनै अन्य कारणले आफूसँग नरहेको भएमा नयाँ मतदाता परिचय पत्र पाउनका लागि निवेदन दिने म्याद २० फागुनसम्म तोकेको छ।

इमेल र फ्याक्स गरेर पनि आयोगमा निवेदन दिन सकिने सहायक प्रवक्ता अर्यालले जानकारी दिए। यसअघि आफै उपस्थित हुनुपर्ने व्यवस्था गरिएकोमा अब भने इमेल र फ्याक्सबाट पनि निवेदन दिनसकिने निर्णय गरिएको छ।

 

मुख्य समाचार राजनीति