नवलपुरमा पठनपाठन नभएको भन्दै विद्यार्थीद्वारा राजमार्ग अवरुद्ध

हेटौँडा/ हेटौंडा–११, नवलपुरमा रहेको त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरुले पठनपाठन नभएकोभन्दै राजमार्ग अवरुद्ध गरेका छन् ।

उनीहरुले विगत दशदिनदेखि शिक्षकहरुले तलब नपाएकोभन्दै पठनपाठन नगराएकोभन्दै पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरेर आन्दोलन गरेका हुन् । स्थानीयका अनुसार विद्यार्थी नेता झलक छत्कुलीको नेतृत्वमा विद्यार्थीले राजमार्गमा नाराबाजी गरेर अबरद्ध गरिरहेका छन् । उनीहरुले १२ बजेदेखि राजमार्ग अवरुद्ध गरेका हुन् ।

विद्यार्थीले नियमित पठनपाठन हुनुपर्ने माग गर्दै शिक्षकहरुले विद्यालयमा राजनीति गरेको आरोप लगाएका छन् । ‘शिक्षकको राजनीति गर्ने थलोकोरुपमा विद्यालय प्रयोग भइरहेको छ जसको कारणले गर्दा हामीले राजमार्ग अवरुद्ध गरेका हौं ।’, एक विद्यार्थीले भने । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार घटनास्थलमा प्रहरी परिचालन भएको छ । ‘विद्यालयमै राजनीति भएको देखिन्छ । शिक्षकहरु नै दुई समूहमा विभाजित भएका रहेछन् । हामी बुझ्दैछौं ।’, उनले भने ।

शिक्षा समाज