हेटौंडा–६ वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

हेटौँडा/ हेटौंडा–६ को वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । बिहिबार एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडा–६ को चौघडा स्वास्थ्य चौकीलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतले हेटौंडाका प्रत्यक वडामा स्वास्थ्यचौकी स्थापना गरिएको र हरेक नागरिकको सेवा टोल स्तरमा पुर्याइएको बताए । हेटौंडाको यस वडाबाट सुरु भएको अभियान अब हेटौंडाका १९ वटै वडाहरुमा लगिने बताए । यस वडामा कुनैपनि गर्भवती महिलाहरु घरमा नभइ स्वास्थ्यसंस्थामा आएर मात्र सुत्केरी गराइने भएको छ ।

कार्यक्रममा बोल्दै मेयर महतले स्वास्थ्य चौकीले वडाबासीहरुको स्वास्थ्य प्रति गरेको कामको प्रशंसा गरे । मेयर महतले नगरपालिकाले सदैव नगरबासीहरुको हितमा काम गरेको बताउदै हेटौंडा उपमहानगरपालिकालाई देशकै उत्कृष्ट नगर बनाउने बताए । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख टीएन ढुङगेलले वडाबासीहरुको सहयोग र साथ पाएकाले स्वास्थ्य चौकीलाई नगरकै उत्कृष्ट स्वास्थ्य चौकी बनाउन सफल भएको बताए ।

कार्यक्रममा स्वास्थ्य चौकीले गरेको विभिन्न क्रियाकलापहरुको प्रचारप्रसार गरि सहयोग गर्ने सञ्चारकर्मी भीमसेन पौडेल र रुपेश दुलाललाई प्रशंसापत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी,स्वास्थ्य चौकी जाने बाटोको लागि जग्गा दान गर्ने भगवती ढकाल, मनिस ढकाल र दिनेश ढकाल, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य चौकीका कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।

हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा हेटौडा–७ का वडा अध्यक्ष राजन थापा, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, बरिष्ठ पत्रकार प्रताप बिष्ट, सहयोगी मन नेपालका केन्द्रीय अध्यक्ष केदार प्रसाद चौलागाई, बंशगोपाल माविका प्रअ रमेश प्रसाद लामिछाने, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष केशव धिताल लगायतको आतिथ्यता रहेको थियो ।

समाज