कांग्रेस नेतृत्वमा सरकार बनाएर क्रान्ति गर्छाैं भन्नेहरु कम्युनिस्ट होइनन् : ओली

 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नाम मात्रैको भएको बताएका छन् ।

एमाले कास्कीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष ओलीले माओवादीले एमसीसीका नाममा तमासा देखाएको समेत आरोप लगाएका हुन् । एमसीसी सम्झौता गर्ने अनि सडकमा तमासा पनि गर्ने ? भन्दै माओवादी केन्द्रलाई प्रश्न गरेका छन् ।

प्रचण्डप्रति लक्षित गर्दै ओलीले धक्का, महाविपत्ती, छलाङ, क्रमभंगले राष्ट्रियताको विकास गर्छ ? भन्दै प्रश्न गरेका छन् । ओलीले नेकपा एमाले वाइयात कुराको पछि नलाग्ने समेत बताएका छन् । निर्वाचन घोषणा भएपछि सत्ता गठबन्धनका नेताहरुलाई भोक र निद्रा लाग्न छाडेको समेत ओलीको टिप्पणी गरेका छन् ।

कार्यक्रममा ओलीले एमाले र जन दवावकै कारण सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्न बाध्य भएपनि चुनाव हारिने डरले नेताहरुलाई भोक र निन्द्रा लाग्न छोडेको बताएका हुन् । उनले सरकारमा हुने पार्टीका नेता कार्यकर्ता एमालेले लिएको नीति र विचार सहि भएकै कारण एमाले प्रवेश गरिरहेको बताएका छन् । उनले प्रतिक्रियावादीहरुसँग मिलेर काँग्रेसको नेतृत्वमा सरकार बनाएर क्रान्ति गर्छौ भन्नेहरु कम्युनिस्ट हुन नसक्ने समेत बताएका छन् ।

ओलीले वास्तविक कम्युनिस्ट पार्टी एमालेमात्र भएको भन्दै जहाँ नेपाली त्यहाँ एमाले भइसकेको बताएका छन् । त्यस्तै उनले एमालेले छिर्के लगाएर नभई दौडेर स्वर्ण पदक जित्ने दावी समेत गरेका छन् । सत्ता गठबन्धनमा रहेका झलनाथ खनाल, डा.बाबुराम भट्टराई र काँग्रेसको नाम लिँदै उनले आफुलाई ढुंगा हानिएको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका दलहरू नै एमसिसीविरूद्ध सडकमा ढुङ्गामुढा गरिरहेको समेत बताएका छन् ।

एमसिसी ल्याउनेहरूले नै सडकमा तमासा देखाएको आरोप लगाउँदै देशमा शान्ति सुव्यवस्था नरहेको पनि ओलीले दाबी गरेका छन् । तत्कालीन एमाले नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा अमेरिकासँग एमसिसी माग गरेको ओलीले दाबी गरेका छन् । सरकारमा रहेका नेताहरूले अरू जे भए पनि गठबन्धन कायम रहन्छ मात्र भन्ने गरेको उनले बताएका हुन् ।

मुख्य समाचार राजनीति समाचार