ओलीले एमसीसी जस्ताको त्यस्तै पास गर्न खोज्दा गिजोलियो, अहिले हित हुने गरी अनुमोदन भयो : प्रचण्ड

हेटौँडा/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघिको नेपाल कम्युनिस्ट पार्टीको पालामा नै अमेरिकी सहायता परियोजना एमसीसी सबैभन्दा धेरै गिजोलिएको बताउनुभएको छ । आफ्नै निवास खुमलटारमा आज सोमवार भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले पहिले अमेरिकाले नेपाललाई ठूलो सहायता दिने भयो भनेर सबै खुसी भए पनि नेकपाको सरकार बनेपछि अनेक विषय आउँदा गिजोलिएको बताउनुभयो ।

‘पहिले अमेरिकाले नेपाललाई अनुदान दिने भयो भनेर हामी सबै खुसी थियौँ तर नेकपाको सरकार बनेपछि यो विषय गिजोलियो, एमसीसी प्रोजेक्टलाई अमेरिकाकै केही मन्त्रीहरूले आईपीएसको अङ्ग भनेर भनेपछि थप विवादमा आयो, यस्तै त्यति बेलाका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली अमेरिका गएपछि नेपाल पनि नेपाल आईपीएसकै सदस्य भयो भन्ने समाचार आयो र विवादमा आयो ।’ आफूहरू नेकपामै रहँदा एमसीसी सम्झौतामा भएका विषय स्पष्ट नगरि पास नगर्ने अडान राखेको तर त्यति बेलाका अध्यक्ष केपी शर्मा ओलीले जस्ताको त्यस्तै पारित गर्ने अडान राख्नुभएको प्रचण्डको जिकिर छ ।

एमसीसीबारे विवाद बढ्दै गएपछि नेकपाको कार्यकारी अध्यक्षको हैसियतमा आफूले केन्द्रीय कमिटीको बैठकमा एमसीसी संशोधन गरेर मात्रै पास गर्नुपर्ने प्रस्ताव राखेको प्रचण्डको भनाइ छ ।

नेकपाका त्यति बेलाका नौ जना सचिवालय सदस्यमध्ये सात जनाले एमसीसी जस्ताको त्यस्तै पारित नगर्ने भन्दा पनि केपी शर्मा ओली र अर्का एक जना जस्ताको त्यस्तै पारित गर्ने अडानमा रहँदा विषय झनै विवादित बनेको प्रचण्डले बताउनुभयो । नौ जना सचिवालय सदस्यमध्ये सात जना संशोधन नगरि हुन्न भन्नेमा लागे, ओली र अर्का एक जना नेताले जस्ताको त्यस्तै पारित गर्ने अडानमा थिए । एमसीसीलाई देश हितका लागि प्रयोग गर्न कुनै न कुनै प्रस्ताव संसदबाट पारित गरेर जान सकिन्छ कि भनेर पहिलो पटक मैले नै कुरा राखेको हो । ओलीले मानेनन्, यो कुरा अहिलेसम्म बाहिर आएको थिएन’, प्रचण्डले भन्नुभयो ।

 

मुख्य समाचार राजनीति