आज माझी समुदायको लदी पर्व, बागमती प्रदेशमा सार्वजनिक विदा

हेटौँडा/ माझी समूदायको महान् पर्व लदी (कोशी पूजा) आज भव्य रुपमा मनाइदै छ। खोलालाई भगवानको रुपमा सामुहिक पुजा गर्दै माझी समुदायले लदी पर्व मनाउँदै छन् ।

माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको तेस्रो मंगलवार बिशेष पर्बको रुपमा लिई यो पर्ब मनाउने गरेका छन् ।

माझी समुदायको मुख्य पेशा भनेकै नदीमा डुङ्गा तार्ने, माछा मार्ने रहदै आएको छ । नदीमा सधै माछा मार्न जानु पर्ने र डुङ्गा तार्दा नबगाओस् भन्ने हेतुले वर्षेनी माझी समुदायले कोशीको पूजाआजा गर्दै आएको माझी समुदायको विश्वास छ ।

उनिहरुले लदी पर्वको अवसरमा खोलाको संगममा खोलालाई बोका, कुखुरा र परेवाको बली समेत दिने गरेका छन् ।

यसैबीच,बागमती प्रदेश सरकाले आज माझी समूदायको लदी पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ ।

आन्तरिक तथा कानून मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै प्रदेश सरकारको फागुन ११ को मन्त्रिपरिषद्को निर्णयअनुसार माझी समुदायको पर्वको अवसरमा फागुन १७ गते विदा दिएको जनाएको छ ।

यसअघि,माझी राष्ट्रिय मुक्तिm मोर्चा,नेपालले बागमती प्रदेश सरकारलाई माझी समुदायको संस्कृति जोगाउन राष्ट्रिय पर्वमा सूचिकृत र सार्वजनिक विदा गर्न माग गरेको थियो ।

यसैगरी,मकवानपुरको बकैया गाउँपालिकाले पनि आज माझी समुदायले मनाउने लदी पर्वको अवसरमा गाउँपालिकाभर बिदा दिएको छ ।

गाउँपालिकाको कार्यपालिकाको बैठकले निर्णय गरेर आजका लागि बिदा दिइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीद्वारा जारी सूचनामा जनाईएको छ ।

समाज