अबदेखि सहकारी संस्थाहरुले पनि एटिएम कार्ड जारी गर्न सक्ने

हेटौँडा/ बैंक तथा वित्तिय संस्थाहरुले मात्रै आफ्नो पहिचान सहितको एटीएम कार्ड जारी गर्दै आएकोमा अबदेखि सहकारी संस्थाहरुले पनि जारी गर्न सक्ने भएका छन् ।

आइतबार स्मार्टच्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीच सम्झौताले सहकारीलाई कुप कार्ड जारी गर्ने सम्बन्धमा बाटो खोलेको हो । अब सहकारी संस्थाहरुले आफ्नो पहिचान सहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् ।

सम्झौता पत्रमा स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईं र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अबदेखि सम्पूर्ण सहकारीहरुले राष्ट्रिय सहकारी बैंकमा सम्पर्क गरी कुप कार्ड जारी गर्न सक्नेछन् ।

सहकारीहरुले आफ्नो सदस्यलाई कुप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटिएम मार्फत रकम निकाल्न सक्नेछन् भने पिओएसको माध्यमबाट कुनै पनि सेवा वा बस्तु खरिद् गर्न सक्ने छन् ।

समाज