हेटौंडामा ३५ करोडको लागतमा सुविधा सम्पन्न बस टर्मिनल बन्दै

हेटौँडा/ हेटौंडाको मुख्य बजार क्षेत्रबाट अलि भित्र जाँदा निकै ठूलो भवन निर्माण भइरहेको जस्तो देखिन्छ । चारैतिरबाट जस्ताको टिनले घेरिएको यस क्षेत्रमा गेटभित्र गएपछि श्रमिकहरु काममा व्यस्त रहेका देखिन्छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० टिसीएनमा सुविधा सम्पन्न बस टर्मिनल निर्माण हुन थालेको एक वर्ष भयो । ३५ करोड रुपैयाँ लागतमा हेटौंडा उपमहानगरपालिकाले बस टर्मिनल बनाउन लागेको हो । यसमा ५० प्रतिशत काम सकिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महत बताउनुहुन्छ ।

उहाँका अनुसार डेढ वर्ष समय अवधि दिएर बस टर्मिनलको काम थालिएको हो । योजना अनुसार चार तलाको भवन हुनेछ भने मुनिका दुई तलामा पार्किङ र माथिल्ला दुई तलामा व्यापारिक कम्प्लेक्स रहनेछ । रसुवा, आसिस, बानियाँ जेभीले ठेक्का मार्फत काम गरिरहेको छ । यो बस टर्मिनल बनेपछि यात्रु तथा बस व्यवसायी सबैलाई सुविधा हुने बताइएको छ ।

उपमहानगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको बस टर्मिनलको जग राख्ने काम भइरहेको छ । अहिले टिसिएनमा भइरहेको तरकारी बजार क्षेत्रमा बसपार्कका रुपमा बगैँचा सहित निर्माण हुनेछ । उपमहानगरपालिकाले यो भवन निर्माण भएपछि आम्दानीको आन्तरिक श्रोत पनि वृद्धि हुने र सुविधा सम्पन्न बसपार्क पनि निर्माण हुने मेयर महत बताउनुहुन्छ । यस्तै स्थानीय सरकारले विकास निर्माणका काम गर्नका लागि अरुको मुख ताक्ने अवस्था पनि नहुँने मेयर महतको भनाइ छ ।

समाचार समाज