पलविरुद्ध बलात्कारका प्रमाण जुटाएको प्रहरी दाबी ! मुद्दा अदालतमा बुझाइँदै  

हेटौँडा/ बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार एक दुई दिनमै पलविरुद्धको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत तनहुँमा बुझाउने तयारी छ ।

जवरजस्ती करणी मुद्दा बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

पलविरुद्ध तीनपटक म्याद थपिएको छ । पहिलोपटक सात दिन,दोस्रोपटक १२ दिन र तेस्रो पटक पाँच दिनको म्याद थपिएको छ ।

पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा एक १७ वर्षीया गायिकाले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन् ।

प्रहरी अनुसन्धानका क्रममा पलमाथिको अभियोग प्रमाणित हुने प्रमाण जुटाएको प्रहरीको दाबी छ । प्रहरीले पलले किशोरीसँग गरेको कल रेकर्ड,म्यासेजलाई पनि प्रमाणको रुपमा लिएको छ । यसबाहेक पीडितले उजुरीमा लगाएको आरोपलाई विभिन्न कोणबाट पुष्टि गर्ने काम गरेको छ । घटनामा नाम जोडिएका अन्य पात्रहरुसँग पनि प्रहरीले सोधपुछ गरेको छ ।

यसअघि पल शाहविरुद्ध गत बिहीबार नवलपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा दायर भइसकेको छ ।

पलले ०७७ चैत ७ गते गैँडाकोटस्थित एक रिसोर्टमा सुटिङका लागि गएको बेला बलात्कार गरेको भन्दै जाहेरी दिइएको थियो ।

सोही जाहेरीपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

पलले भने गैँडाकोटमा आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले आफूमाथि लगाइएको आरोप झुटो भएको दाबी गरेका छन् ।

गैँडाकोटमा रहेको रिसोर्टमा पल १०१ नम्बरको कोठामा बसेको र पीडित किशोरी १०२ नम्बर कोठामा बसेको बताइएको छ ।

सोही राति पल किशोरीको कोठामा गएर जबरजस्ती करणी गरेको उनीविरुद्ध आरोप छ ।

प्रहरी अनुसन्धानका क्रममा सुटिङ युनिट रिसोर्टमा बसेको पुष्टि भइसकेको छ । पीडित किशोरीले राति ११ बजे आफू बसेको कोठामा आएर पलले बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।

गैडाकोटमा पलको बयान भएपनि उनमाथि म्याद थप लगायतको प्रक्रिया तनहुँबाट अगाडी बढेको हो । एकै प्रकृतीको घटना भएकाले एकै कार्यालयबाट मात्रै पनि प्रक्रिया अगाडी बढाउन पाइने भएकाले तनुहँबाट म्याद थप लगायतको प्रक्रिया सुरु गरिएको हो ।

पल प्रकरणमा नेपाली कलाकारका अभिव्यक्ती समेत विवादमा पर्दै आएका छन् । पछिल्लो समय पल प्रकरणमा अनावश्यक भ्रम फैलाउने काम गरेको भन्दै प्रहरी युटुवरविरुद्ध समेत आक्रमक बनेको छ ।

मनोरञ्जन