राजर्षि जनक कप : आज आयोजक बागमती र एनआरटी भिड्दै

हेटौँडा/ राजर्षि जनक कप फुटबल प्रतियोगितामा आज आयोजक बागमती युवा क्लब र न्युरोड टिम (एनआरटी) भिड्ने भएका छन्। बागमती नगरपालिका– ११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत मंगलबार बागमती र एनआरटीबीच प्रतिस्पर्धा हुन लागेको हो। यी दुई टोली धनगढीमा सम्पन्न खप्तड गोल्डकपमा पहिलोपटक आमनेसामने भएका थिए।

उक्त भेटमा बागमतीले ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा रहेको एनआरटीलाई टाइब्रेकरमा पराजित गरेको थियो। यस अर्थमा पनि मंगलबारको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। एनआरटीका लागि आजको खेल धनगढीको बदला लिने अवसर हुनेछ भने बागमतीका लागि फेरि जित दोहोर्‍याउँदै फाइनल प्रवेश गर्ने अवसर बन्न सक्नेछ।

एनआरटी ग्लोबल (बिएफसी) चितवनलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो भने बागमती एक खेल बाई पाएर सीधै तेस्रो क्वार्टरफाइनल प्रवेश गरेको हो। खेल दिउँसो ३ बजे सुरु हुने आयोजक क्लबका महासचिव सागर मैनालीले जानकारी दिए। आजको विजेताले यसअघि नै प्रतियोगिताको अन्तिम चारमा पुगिसकेको डिफेन्डिङ च्याम्पियन पिप्ले युवा क्लब हेटौँडासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

चैत १३ गते हुने फाइनलको विजेताले प्रतियोगिताको उपाधिसहित १० लाख एक हजार र उपविजेताले पाँच लाख पाँच सय पुरस्कार प्राप्त गर्नेछ। साथै, सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई जनही नगद २५–२५ हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने स्थानीय एक खेलाडीलाई बागमती राइजिङ अफ दी इयर प्लेयर घोषणा गर्दै एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ।

खेलकुद