हेटौंडा-१४ का वडाध्यक्षले स्थानीयलाई थाहै नदिई उपभोक्ता समिति बनाएको भन्दै स्थानीयद्वारा विरोध

हेटौँडा/ हेटौंडा–१४ का वडाध्यक्ष दीपक खड्काले वडामा परेका योजनाहरु कार्यान्यवन गराउनको लागि स्थानीयलाई थाहै नदिई उपभोक्ता समिति बनाएको भन्दै स्थानीयले विरोध गरेका छन् । बागमती प्रदेश सरकारले केही समयअघि मात्रै स्वीकृत गरेको बजेट कार्यान्वयन गर्न स्थानीय उपभोक्ताहरुसँग छलफल नै नगरी निश्चित मान्छेहरु भेला गरेर समिति बनाएको भन्दै बुधबार स्थानीयहरुले वडा कार्यालाय घेराउ गरेका छन् ।

आफ्नो टोलको लागि छुट्याएको बजेट कार्यान्वयन गराउन उपभोक्ता समिति गठन गर्ने उद्देश्यले वडा कार्यालयमा जाँदा वडाध्यक्षले आफूहरुले समिति गठन गरी सम्झौता गर्न पठाइसकेको बताएपछि स्थानीयहरु आक्रोशित बनेका थिए । टोल भन्दा बाहिरको व्यक्तिहरुको नाम राखेर समिति गठन गरिएको र उनीहरुको उपस्थिति बिनै निर्णय गरी पठाइएको नेपाली कांग्रेस हेटौंडा(१४ का वडा सभापति मनोज थिङको दावी छ । ‘प्रदेश सरकारले हालेको बजेट कार्यान्वयन गर्ने क्रममा वडाध्यक्षले टोलभन्दा बाहिरको मानिसहरुको नाम आफूखुसी राखेर पठाएको पाइयो । छलफल र भेला बिनै उपभोक्ता समिति गठन गर्नु अवैधानिक काम हो । यो सच्याउनुपर्छ ।’ वडा सभापति थिङले भने ।

वडाध्यक्ष खड्काले प्रदेशबाट हालिएको विभिन्न ६ वटा योजना कार्यान्वयन गराउन उपभोक्ता समिति गठन गरी कार्यान्वयनको लागि सिफारिस गरिसकिएको पाइएको स्थानीयले बताएका छन् । सर्वसहमतिबाट उपभोक्ता समिति गठन नभए प्रभावकारी रुपमा योजना कार्यान्वयन हुन नसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । प्रष्ट खबरबाट

समाज