कोभिडका कारण नेपाल फर्किएर विदेश पढ्न जान नपाएका विद्यार्थीले शुक्रबारभित्र निवेदन दिन सक्ने

कोरोनाले गर्दा नेपाल फर्किएर विदेश पढ्न जान नपाएका विद्यार्थीले आउँदो शुक्रबारभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ ।

कोरोना महामारीका कारण चीन लगायत देशबाट फर्किएका विद्यार्थीले अध्ययनका लागि पुनः सम्बन्धित देश जान आउँदो शुक्रबारसम्म मन्त्रालयमा निवेदन दिन सक्ने शिक्षा मन्त्रालयले जनाएको छ । कोरोना महामारी र लकडाउनका कारण चीनलगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए ।

कोरोना र लकडाउनले पढाइलाई निरन्तरता दिन नपाएका उनीहरुलाई मन्त्रालयले निवेदन दिई सम्पर्कमा आउन भनेको हो । त्यसका लागि www.moest.gov.np मा राखिएको निवेदनको ढाँचामा उल्लेखित विवरण खुलाएर मन्त्रालयको शिक्षा शाखाको इमेल technicaleud@moest.gov.np मा निवेदन दिन मन्त्रालयले आग्रह गरेको छ ।

चीनलगायत देशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले फेरि चीन गएर पठनपाठनलाई निरन्तरता दिने वातावरण बनाइदिन सरकारलाई आग्रह गर्दै आएका थिए । गएको हप्ता चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाली विद्यार्थीको समस्या प्राथमिकताका आधारमा समाधान गर्ने सम्झौता भएको  थियो । परराष्ट्र मन्त्रालयसँगको सहमतिपछि शिक्षा मन्त्रालयले अलपत्र परेका विद्यार्थीलाई अध्ययनका लागि पुनः चीन पठाउन प्रक्रिया थालेको हो ।

शिक्षा समाज