पाकिस्तानमा संसद विघटन : नब्बे दिन भित्र चुनाव

पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले संसद् विघटनको प्रस्ताव सदर गर्नुभएको छ । हिजो आइतवार प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उहाँले सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ ।  

संसद् विघटनसँगै उहाँले आउँदाे ९० दिनभित्र चुनाव गर्ने घोषणा पनि गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री खानले संसद्‌मा आफूविरुद्धको अविश्वास प्रस्ताव पेस गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमै संसद् विघटनको सिफारिस गर्नुभएको हो । विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर चुनाव जान लागिएको उहाँले स्पष्ट पार्नुभयो ।

पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उहाँ नेतृत्वको सरकारविरुद्ध आन्दोलन गर्दै आएका थिए ।

देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले चुनावका लागि तयारी अवस्थामा रहन आम नागरिकलाई आह्वान पनि गर्नुभएको छ । विपक्षले आफूविरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उहाँले यसलाई देशमाथि गरिएको ‘धोका’ को संज्ञा दिनुभएको थियो ।

प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताउनुभएको छ । उहाँले पाकिस्तानका युवालाई बाह्य शक्तिहरूले गरेको षड्यन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताउनुभएको छ ।

प्रधानमन्त्री खानले प्रतिपक्षी दलका नेताहरूले आफूविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिने चेतावनी पनि दिनुभएको छ । उज्यालो अनलाइनमा प्रकाशित समाचार साभार ।

अन्तराष्ट्रिय मुख्य समाचार