निर्वाचन प्रभावित हुने गतिविधि नगर्न सञ्चारमाध्यमहरुलाई आग्रह

हेटौँडा/ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले आगामी स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयहित वातावरणमा सम्पन्न गराउन आमसञ्चार माध्यमले पहरेदारको भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको सहयोगमा निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले स्वच्छ, मर्यादित र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन आमसञ्चार माध्यमले सत्य, तथ्य र निश्पक्ष सुचना सम्प्रेषण गरेर सहयोग गर्न आग्रह गरे ।

आमसञ्चारमाध्यमको खबरदारी र सञ्चारकर्मीको निष्ठाका कारण मुलुक स्थानीय तह निर्वाचनको प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै उनले पत्रकार आचारसंहिता र निर्वाचन अचारसंहिताको पूर्णपालना गर्न सञ्चारमाध्यमहरुसँग पनि उनले आग्रह गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन महँगो, खर्चिलो र भड्किलो हुँदै गएको, यसले निर्वाचन प्रभावित हुने भनेर व्यक्त भएका चिन्तालाई सम्बोधन गर्न निर्वाचनमा हुने सबै खर्चको सीमा तोकिएको बताए ।

उनले मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधि नहोस् भनेर मौन अवधिमा देशभर मादक पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाउने प्रस्ताव गरिएको पनि जानकारी दिए ।

आयोगले उम्मेदवार हुने व्यक्ति स्वच्छ होस् भनेर स्वघोषणाको विषय उठान गरेको बताउँदै उम्मेदवार मनोनयनका लागि २ दिन दिने र प्रचारप्रसारका लागि १५ दिनबाट घटाएर ११ दिन दिने निर्णय गरिएको जानकारी दिए ।

मुख्य समाचार राजनीति