गर्भनर प्रकरणः अर्थमन्त्री शर्मा नैतिक सङ्कटको भुमरीमा, राजीनामा दिन चौतर्फी दवाव

नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले पुनर्बहाली गरेसँगै अर्थमन्त्री जनार्दन शर्मा नैतिक प्रश्नको भूमरीमा परेका छन्।

गभर्नर प्रकरण अघिदेखि नै अर्थतन्त्र धराशायी बनाएको भन्दै राजीनामाको दबाबमा पर्नुभएका मन्त्री शर्मा गर्भनरको निलम्बन र सर्वोच्चले पद वहाली गरिदिएपछि झनै संकटमा परेका हुन्। त्यसमाथि मन्त्री शर्माले अमेरिकाबाट आएको ४० करोड रुपैयाँ छुटाउन चलखेल गरेका बिषयले पनि विवादित बनायो ।

सरकारभित्रकै दलहरूबाट अर्थमन्त्रीलाई हटाउनुपर्ने राय आइरहेका बेला अर्थमन्त्रीमाथि एक्सन लिएर पानीमाथि ओभानो बन्न खोजेको आरोप सत्तारुढ दलकै नेताहरुले समेत लगाइरहेका छन् ।

यसअघि माओवदीकै नेता तथा पूर्व अर्थमन्त्री बर्षमान पुनले पनि कारवाही गलत भएको बताउनुभएको थियो । यस्तै कांग्रसका महामन्त्री विश्वप्रकाश शर्माले पनि यसअघि गभर्नर डा. तिलक रावललाई निलम्बन गरेपश्चात सर्वोच्चले पुनर्बहाली गरिदिएपछि तत्कालीन अर्थमन्त्री महेश आचार्यले राजीनामा दिएको नजिर स्मरण गराउँदै मन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएका छन्।

यस्तै पूर्व अर्थमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाशचन्द्र लोहनीले पनि मन्त्री शर्माले राजीनामा दिनुुपर्ने बताए। खासखबरसँगको कुराकानीमा उनले माओवादी जसरी पनि सत्तामा बसिरहन खोज्ने प्रवृत्तिको पार्टी भएकाले मन्त्री शर्मालाई नैतिकताको प्रश्नले नछुने पनि बताए।

लोहनीले मन्त्री शर्मालाई राजीनामा दिन वा आफूले हटाउन खोजेका गभर्नर स्वीकारेर समन्वयमा काम गर्नेमध्ये एक विकल्प रोज्न सुझाव दिए।

प्रचण्डले गरे बचाउ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्रीजनार्दन शर्माबीच सल्लाह भएरै हटाएको बताएका छन्।

आज धनगढी विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गभर्नरको विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको सल्लाह भएको बताएका हुन्। उनले सुरुबाटै गभर्नर र सरकारबीच तिक्तता पैदा भएको बताए ।

‘सुरुबाटै गभर्नर र सरकारका बीचमा समस्या देखिएको हो । अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै त्यस्तो निर्णय गरेको भन्ने प्रष्ट भइसकेको छ’, उनले भने, ‘१३ गते अदालतमा दुवैका कुरा आउँछन् । त्यसपछि मात्रै के भएको हो भन्न सकिने तर अहिले केहि भन्न नसकिने उनले बताए ।

मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएपछि अर्थमन्त्रीमाथि नैतिक प्रश्न उब्जिएको थियो । अर्थमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला प्रचण्डले प्रधानमन्त्रीको सल्लाहमा त्यस्तो निर्णय भएको बताएका हुन् ।

मुख्य समाचार राजनीति समाचार