सत्ता गठबन्धनको चुनावी सभा आज काठमाडौँमा

काठमाडौँ : पाँच दलीय सत्ता गठबन्धनले आज (शुक्रबार) काठमाडौँ उपत्यकामा संयुक्त चुनावी सभा गर्दैछ। हिजो (बिहीबार) भरतपुरमा चुनावी सभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौँको भृकुटीमण्डपमा सभा गर्न लागेको हो ।

सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । काठमाडौँ महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार छन् । बिहीबार भरतपुरमा आयोजित चुनावी सभामा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका गठबन्धनका नेताहरुले आज काठमाडौँमा सभा गर्न लागेका हुन् ।

कांग्रेसले यसअघि २१ वैशाखमा मोरङको विराटनगरमा सभा गरिसकेको छ । विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार बनेका छन्। कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ ।

मुख्य समाचार राजनीति समाचार