गठबन्धनको बकैयामा चुनावी प्रचारप्रसार तीव्र

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनको चुनावी प्रचार जारी रहेको छ । विभिन्न वडाहरुमा घरदैलो तथा अगुवा कार्यकर्ता भेटघाट गर्दै  गठबन्धनका उम्मेदवारले विहीबार भने वडा नम्बर ११ ठिङगनको वाईवालोसेमा संयुक्त चुनावी सभा गरेको छ ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार धर्मराज लामिछानेले कान्तिराजपथ सँग जोडिएको यस वडालाई कृषि, पर्यटनको विकासका साथै थप सडक सञ्जाल जोडेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गठबन्धन बलियो भएकाले जीत सुनिश्चित रहेको बताउँदै लामिछानेले  वडामा रहेका युवालाई युवा लक्षित कार्यक्रमहरु ल्याई स्वरोजगार बनाउन आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
विजुली बत्ति, खानेपानी, शिक्षा तथा स्वास्थ्यका क्षेत्रको सेवाको विस्तार गर्ने र गाउँपालिकालाई आर्थिक समृद्धिको दिशातर्फ लैजाने उनको भनाई छ ।
कार्यक्रमलाई उपाध्यक्ष पदका उम्मेदवार भक्त बहादुर खत्रीले गठबन्धनको जीत नजिक रहेकोले अब गाउँपालिकामा विकासको लहर सबै वडाहरुमा हुने बताए ।
कार्यक्रममा वडा अध्यक्ष पदका कांग्रेसका उम्मेदवार गोपाल न्यासुर, सदस्य पदका उम्मेदवारहरुले आफ्नो वडा बनाउनको लागि प्रतिवद्धता व्यक्त गर्दै आफ्नो भनाइ राखेका थिए । उम्मेदवारहरुले वडा नम्बर ६ सुदामा समेत घरदैलो गरेका छन् ।
घरदैलो सहित बकैयामा मतदाता शिक्षा समेत दिइदैं आइएको छ । तामाङ समूदाय बढी रहेकाले तामाङ भाषामा समेत मतदाता शिक्षा दिएको प्रदेश (क) सचिव भूमिनन्द गौतमले बताए ।

राजनीति समाचार समाज