निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ३७ जनासँग स्पष्टिकरण माग

हेटौंडा । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचार प्रसारका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ३७ जनासँग निर्वाचन आयोगले स्पष्टिकरण माग गरेको छ ।

निर्वाचन आचारसंहिता लागू भएदेखि हालसम्म आचारसंहिता उल्लङ्घन गर्ने ३७ जना व्यक्ति र राजनीतिक दलहरूलाई स्पष्टिकरण माग गरिएको आयोगले जनाएको छ ।

साथै आयोगले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीहरूलाई अति आवश्यक अवस्थामा बाहेक अन्यत्र नखटाउन पनि भनेको छ ।
मानवीय र संवेदशील कारण परेको अवस्थामा बाहेक खटाइएको कर्मचारीलाई फेरबदल नगर्न र उपर्युक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन अस्वीकार गरेमा प्रचलित कानून बमोजिम कडा कारवाही गर्न सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आयोगले निर्देशन पनि दिएको छ ।

राजनीति समाचार