मतदान केन्द्रमै कोरोनाविरुद्धको खोप लगाईने

हेटौंडा । सरकारले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन मतदानस्थलमै कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मतदान केन्द्र नजिकै खोप केन्द्र स्थापना गरी कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको हो ।

खोप लगाउन छुटेका १८ वर्षभन्दा माथिका नागरिकलाई मतदान गरिसकेपछि पहिलो, दोस्रो र बुस्टर तिनै प्रकारको खोप लगाउने व्यवस्था गरिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. सागर दाहालले जानकारी दिए ।

उनले मतदान केन्द्रमा खोप लगाउने विषयमा हामी तयार रहेको र मन्त्रालयले निर्णय गर्नासाथ खोप केन्द्र बनाउनेदेखि खोपको व्यवस्थापन सम्बन्धी काम सुरु गरिने पनि बताए । खोपको कुनै मात्रा लगाउन छुटेको भए खोप कार्ड लिएर जान र खोप लगाउन पनि उनले सर्वसाधरणसँग अनुरोध गरेका छन् ।

समाचार समाज