हेटौँडामा लागूऔषधसहित तीन जना पक्राउ

मकवानपुर प्रहरीले हेटौँडाको विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ पीपलबोटबाट पाँच ग्राम खैरो हिरोइनसहित एकजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा हेटौंडा–११ का २८ वर्षीय सविन पहाडी छन् । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना १४ प ३१६४ नम्बरको मोटरसाइकलमा आएका उनको साथबाट पाँच ग्राम खैरोहिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यसैगरी, हेटौंडा–४ पारिजातपथबाट ४५ ट्याब्लेट नाइट्रोभेटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंंडा–५ शान्तिनगरका १९ वर्षका युवराज चौलागाईं छन् । पैदल हिँडिरहेका उनको शरीर खानतलासीको क्रममा ४५ ट्याब्लेट नाइट्रोभेट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

यस्तै, प्रहरीचौकी हेटौंडा बसपार्कको टोलीले लागूऔषध नुर्फिन, डाइजेपाम, फेनार्गन र नाइट्रोभेटसहित बकैया–४ घर भई हेटौंडा–११ मा डेरा गरी बस्दै आएका ३३ वर्षीय लक्ष्मण घलानलाई पक्राउ गरेको छ । घलानको झोला खानतलासीको क्रममा लागूऔषध नुर्फिन, डाइजेपाम र फेनार्गन एकरएक सय एम्पुल र नाइट्रोभेट १०५ ट्याब्लेट फेला परेको जिल्ला डीएसपी कार्कीले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाज स्थानीय