खाने तेलको मूल्य एक साताकाे अन्तरालमै यति धेरैले महँगियो, कति पुग्याे त लिटर काे ?

हेटौंडा/पछिल्लो एक सातामा खाने तेलको मूल्य प्रतिलिटर ५० रूपैयाँ वृद्धि भएको छ । बजारमा भुटेको तोरी, काँचो तोरी, भटमास र सूर्यमूखीको तेल पाइन्छ । अन्य तेलको तुलनामा सूर्यमुखी तेल बढी खपत हुन्छ । व्यवसायीले पनि सूर्यमूखी तेलको मूल्य ह्वात्तै बढाएका छन् ।

स्थानीय तहको चुनावताका प्रतिलिटर तीन सय १० रूपैयाँमा बिक्री भएको सूर्यमूखी तेल चुनाव सकिएको एक सातामै प्रतिलिटर ५० रूपैयाँ बढेर तीन सय ६० रूपैयाँ पुगेको छ । त्यस्तै, त्यो समय भटमासको तेल प्रतिलिटर तीन सय चार रुपैयाँमा बिक्री भएकाे तेल १६ रूपैयाँ बढेर तीन सय २० रूपैयाँमा बिक्री भएको नेपाल खुद्रा व्यापार संघले दिएको तथ्यांकले देखाउँछ।

 

पछिल्लो एक सातामै उद्योगबाट प्रतिलिटर ५० रूपैयाँ मूल्य बढेर आएको संघका महासचिव अमुलकाजी तुलाधारले बताए । ‘हामीले मूल्य बढाएका होइनौं, उद्योगबाटै बढेर आएको छ,’ उनले भने । उद्योगबाट मूल्य बढेर आएपछि आफूहरू पनि मूल्य बढाउन बाध्य भएको उनको भनाइ छ ।

पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो आएसँगै वाणिज्य विभागले बजार अनुगमनलाई तीव्र बनाएको विभागका महानिर्देशक लिला प्रसाद शर्माले बताए । ‘हामीले अनुगमन गरिरहेका छौं । अस्वाभाविक मूल्य वृद्धि गरिएको पाइए कारबाही गर्छौं,’ उनले भने । रू`स-यु`क्रे`न का कारण तेलको मूल्य केही बढेको उनको भनाइ छ ।

‘हाम्रो अनुगमनले अहिलेसम्म स्रोतमै मूल्य बढेको देखाएको छैन,’ उनले भने, ‘तेलका केहीले ब्राण्डले एमआरपी मूल्यभन्दा बढी लिएको गुनासो आएको छ। प्रमाणित भए हदैसम्मको कारबाही हुन्छ ।´ खुद्रा व्यापार संघको तथ्यांकअनुसार भुटेको तोरीको तेल र काँचो तोरीको तेलको मूल्य भने यथावत नै छ। बजारमा भुटेको तोरीको तेल प्रतिलिटर चार सय दस रूपैयाँ र काचो तोरीको तेल प्रतिलिटर ३ सय ७५ रूपैयाँमा बिक्री भइरहेको छ । श्रोत setopati

समाज स्थानीय