प्राधिकरणले संचालनमा ल्यायो कल सेन्टर,ग्राहकको गुनासो सुन्न २४ सैं घण्टा संचालन

काठमाण्डौंः नेपाल विद्युत प्राधिकरणले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र ग्राहकहरुको गुनासो सम्बोधन गर्न कल सेन्टर संचालनमा ल्याएको छ। ग्राहकहरुको सहजताका लागि विद्युत आपूर्ति सम्बन्धी गुनासो, सूचना तथा जानकारीहरु एकै स्थानबाट आदानप्रदान गर्ने भन्दै कल सेन्टर संचालनमा ल्याइएको हो।

विद्युत आपूर्ति सम्बन्धी कुनै समस्या, सूचना तथा गुनासो भएमा प्राधिकरणको हटलाइन नम्बर ११५० मा फोन सम्पर्क गरिसकेपछि अंक १ डायल गरेर कल सेन्टरबाट सेवा लिन सकिनेछ।

नो लाइटमा फोन नै नउठेको गुनासो बढेपछि प्राधिकरणले कल सेन्टर संचालनमा ल्याएको हो। वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवालले कल सेन्टर भनिए पनि गुनासो व्यवस्थापनको काम गर्ने बताए।

उनका अनुसार ४ जनाका दरले तीन सिफ्टमै कर्मचारी हुनेछन्, जसले २४ सैं घण्टा कल सेन्टर संचालन गर्नेछन्। विद्युत आपूर्ति सम्बन्धी गुनासो भए टिपाउन सकिनेछ। उक्त आधारमा कल सेन्टरले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरेर जानकारी लिएर ग्राहकहरुलाई दिने र के कति कारणले बत्ती गएको र कति बेला आउँछ भन्ने जानकारी दिनेछ।

रातको समयमा विद्युत आपूर्ति सम्बन्धी सेवा लिन सकिने र कार्यालय समयमा बिलिङमा आएको समस्या लगायत अन्य गुनासोहरु समेत सम्बोधन गर्ने योजना छ। कल सेन्टर प्राधिकरणको केन्द्रीय कार्यालय परिसरभित्रै राखिएको छ । विस्तारै उपत्यका बाहिर समेत विस्तार गर्दै लैजाने योजनामा वितरण तथा ग्राहक सेवा निर्देशनालय छ।

समाज