एन्फा निर्वाचन : २१ पदका लागि ५४ जनाको उम्मेदवारी, कसको प्यानलमा को ?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका २१ पदका लागि कूल ५४ जनाको उम्मेदवारी परेको छ । जेठ ६ देखि १२ गतेसम्म मनोनयनका लागि तोकिएको समयसीमाभित्र अध्यक्षका लागि ३ सहित ५४ जनाले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जानकारी दियो।

आगामी असार ६ गते हुने एन्फाको २१औं साधारण सभा तथा केन्द्रीय निर्वाचनबाट एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र १५ सदस्य (दुई महिला अनिवार्य) गरी २१ जना निर्वाचित हुनेछन् ।

निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ छुट्टा छुट्टै प्यानल बनाएर होमिएका छन् ।

चार वर्षअघि ‘चेन्ज एन्फा’ को नारा लिएर एउटै टिममा रहेका कर्मा र पंकज यस पटक भने एक अर्का विरुद्ध प्रतिस्पर्धामा उत्रिएका छन् । फ्रेण्ड्स क्लबका पूर्व उपाध्यक्ष राजीव राज पौड्यालले पनि अध्यक्षमा मनोनयन दर्ता गरेका छन् ।

वरिष्ठ उपाध्यक्षको लागि दुई तथा चार उपाध्यक्षको लागि ८ जनाको दावेदारी परेको छ । सदस्यमा ५ महिलासहित कूल ४१ जनाको मनोनयन परेको छ ।

सदस्यमा दुवै पक्षबाट १३–१३ जनाले उम्मेदवारी दर्ता गराउँदा केहीले स्वतन्त्र रुपमा मनोनयन गराएका छन् । महिलातर्फ पनि ५ जनाले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका छन् ।

अहिलेसम्म विभिन्न पदमा मनोनयन दर्ता गराउने उम्मेदवारहरुको अडियन्स एण्ड कम्प्लायन्स कमिटीबाट इन्ट्रेग्रिटी परीक्षण भइरहेको र प्रारम्भिक नामावाली सार्वजनिक गर्ने तयारीमा निर्वाचन समिति छ । त्यसपछि उम्मेदवारहरुमाथि दावी विरोध गर्ने समय राखिनेछ ।

यी हुन् मतदाता

एन्फा निर्वाचनका लागि जिल्ला क्लब लगायत गरेर कूल ८७ मताधिकार रहनेछ । एन्फाको आगामी चार वर्षे कार्यकालका लागि हुन लागेको निर्वाचनका लागि ४५ जिल्ला, १४ ‘ए’ डिभिजन क्लब, ११ ‘बी’ डिभिजन क्लब र ९ ‘सी’ डिभिजन क्लब, एन्फा अन्तर्गत रहेका खेलाडी संघ, प्रशिक्षक संघ, महिला संघ र रेफ्री संघ, राष्ट्रिय लिगका लागि छनोट भएका चार क्लबले मतदान गर्न पाउनेछन् ।

तर तोकिएको समयमा जिल्ला निर्वाचन गर्न नसकेको सिन्धुली र भक्तपुरको भने एन्फा निर्वाचनमा मताधिकार नपाउने भएका छन् । सिन्धुलीले तोकेको समयमा निर्वाचन गर्न नसकेको र भक्तपुरको आन्तिरक विवादले गर्दा केन्द्रीय निर्वाचनमा सहभागी नहुने भएका हुन् ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले प्रकिया पूरा नभएको र अहिलेसम्म दुवै जिल्लाले प्रतिनिधि नपठाएको अहिलेको अवस्थामा निर्वाचनमा सहभागी नहुने जानकारी दिए ।

यद्यपी अब निर्वाचन कमिटीले मतदाता नामावली सार्वजनिक गर्ने, त्यसमा दावी विरोधको विषयपछि मात्र सबै कुरा थाहा हुनेछ ।

कर्माको प्यानलमा को–को ?

केन्द्रीय निर्वाचनका लागि दुई पक्ष प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् । निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी रहँदा अहिले एन्फाको चुनावी माहोल तातिएको छ ।

कर्मा छिरिङ शेर्पा र पंकज विक्रम नेम्वाङले कार्यक्रम नै गरेर एन्फा निर्वाचनमा होमिएका हुन् । कर्मा छिरिङ शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली तथा चार उपाध्यक्षमा विज्ञानराज शर्मा, उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी र रत्न कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य समाचार