हेटौंडामा लोकसेवा र सवारी अनुमति पत्रको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाका दुई छुट्टाछुट्टै स्थानबाट नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । प्रहरीले लोकसेवा र सवारी अनुमति पत्रको परीक्षामा सहभागी २ जना नक्कली परीक्षार्थी पक्राउ हो ।
हेटौंडा–१ स्थित एक विद्यालयमा लोकसेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा महोतरीको साविक पोखभिण्डा गाविसका अभय कुमार यादवको ठाउँमा परीक्षा दिने कास्की पोखरा–२ का ४२ बर्षीय दिपेन्द्रप्रसाद बस्ताकोटीलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ५८ हजार ५ सय रुपैंया, अभयको नामको नागरिक, महोत्तरीका सुजितकुमार साहको नागरिकता, धनुषका हिराकुमारीको नागरिकता, धनुषाकै विनोदकुमार महतोको नागरिकता र उनको आफ्नै नाममा रहेको चालक अनुमतिपत्र बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यसैगरी, हेटौंडा–११ स्थित यातायात व्यवस्था कार्यालय हेटौंडाले लिईहेको मोटरसाइकलको सवारी चालक अनुमपति पत्रको परीक्षामा मकवानपुर बकैया–७ का टुकनाथ गौतमको ठाउँमा उनकै छोरा सन्तोष गौतमले परीक्षा दिएको पाईएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुबैमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

समाज स्थानीय