रोहिणी बस दुर्घटनाः घाइतेको उपचार गर्न गृहमन्त्रीको निर्देशन 

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको रोहीणी गाउँपालिका–३ स्थित भैरहवा परासी हुलाकी सडकखण्डमा पर्ने रोहीणाी पुलमा बस दुर्घटना हुँदा घाइते भएकाहरूको उपचार गर्न निर्देशन दिएका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेहरूलाई तत्काल अस्पत्ताल पुर्‍याएर उपचारको व्यवस्था गर्न गृहमन्त्री खाणले निर्देशन दिएका हुन् ।

घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरिटेण्डेन्ट डा।शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासनप्रमुख तेज केसीलाई घाइतेहरूको छिटो उपचारको व्यवस्था गर्न गृहमन्त्रीको आग्रह छ ।

रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक रेग्मीका अनुसार आज बिहान करिब ४ः४५ बजे बस दुर्घटना भएको हो । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नं.बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार मृत्यु हुनेमा १ महिला र ८ पुरुष छन् ।

Uncategorized